फेसबुक र महेशकी आमा
“गड कुड नट बि एभ्रिहोइर,सो हि क्रिएटेड मदर!” भगवान आफू सबै ठाउँमा उपस्थित हुन नसक्ने भएकाले उहाँले आमाको सिर्जना गर्नुभएको हो भन्ने महेश श्रेष्ठको ‘स्ट्याटस’ मेरो फेसबुकको भित्तामा देखा पर्यो। तुरुन्तै मेरो दाहिने हातको बूढी औला ‘लाइक बटन’ तिर सोझियो अनि स्पर्श गर्यो। ‘लाइक बटन’ निलो भयो अनि लगत्तै मेरो नाम पनि अरू पन्ध्र जना संगै ‘लाइकर्स’को सूचिमा थपियो। अनि म मुसुक्क हाँसेँ। ————————-————————-————————-————————-————————-————————-
दिउँसभरिको अफिसको कामले गर्दा थकित थिएँ। फ्ल्याटमा आएर नुहाइसकेपछि सोफामा पल्टेर एकछिन आराम गरिसकेपछि टेबलमा राखेको मोबाइल हातमा लिएर फेसबुक खोलेँ। फेसबुक नखोलेको जम्मा २ घन्टा के भएको थियो, नयाँ ३ वटा ‘मेसेज’,२ वटा ‘नोटिफेकेसन’ र एउटा ‘फ्रेन्ड रिक्वेस्ट’ आएका रहेछन्। ३ वटै ‘मेसेज’ हरु कलेजमा संगै पढेका साथीहरूको थियो, ३ वटै ‘मेसेज’ हरुको एउटै सार, “अमेरिकाको बसाई कस्तो छ त?” ‘नोटिफिकेसन’ चाँहि हिजो अफिसमा खिचेर ‘अपलोड’ गरेको फोटोको बारेमा थियो भने ‘फ्रेन्ड रिक्वेस्ट’ महेश श्रेष्ठको थियो।१३ वटा ‘म्युचअल फ्रेन्ड’ भएका उनी फोटोमा मज्जाले हाँसेका थिए। उनको ‘रिक्वेस्ट’ ‘असेप्ट’ गरिसकेपछि उनी मेरा ७१७ औँ साथी भएका थिए। फेसबुक बाट साथी भएको एक हप्तापछि उनले ‘मेसेज’ गरे। “हाई!” मैले जवाफ दिएँ, “हेलो!” मैले जवाफ फर्काउने बित्तिकै उता बाट ‘मेसेज’ आयो, “क्यान वि इन्ट्रोडिउस विथ इच अदर?” मैले फेरि अंग्रेजिमै जवाफ दिएँ, “अफ कोर्स !” अंग्रेजिमा सुरु भएको हाम्रो कुराकानि एकछिनमै नेपालीमा परिणत भयो। आखिर जता बसे पनि नेपाली दाजुभाई संग नेपाली भाषामै कुरा गर्न छुट्टै आनन्द आउँदो रहेछ। परिचय आदान-प्रदान भयो। म भन्दा अलि जेठा नै रहेछन् क्यारे, बिहे गरेर छोरा सम्म जन्माउन भ्याएका। बुवा उनी सानै हुँदा बित्नुभएको रहेछ, मधुमेहका कारणले। घरको एक्लो छोरो। पेशाले ब्याङ्कर रहेछन अनि स्वास्नी चाहिँ नर्स। काठमाडौंमा ३ वटा घर रहेछन्।असाध्यै धनी तर उनको कुरा गर्ने शैली र प्रयोग गर्ने भाषामा कहिल्यै धनी भएको प्रतिध्वनित हुदैनथ्यो। मैले पनि आफ्नो परिचय दिए।अमेरिका आएको ५ वर्ष भइसक्यो।पहिलो ४ वर्ष स्नातक गर्दै बित्यो। एउटा आइटि कम्पनीमा जागिर खान थालेको १ वर्ष भयो। घर चाँहि सुर्खेत तर १२ सम्मको अध्ययन काठमाडौं गरेको। त्यसपछिका थुप्रै कुराकानीपछि हामी फेसबुककै माध्यमबाट अत्यन्तै मिल्ने साथी भइसकेका थियौं। संयोगवश उनी पनि राजनीति र खलकुदका विषयमा खुब रुचि राख्दा रहेछन्, मैले जस्तै। दिनहुँ खुब गफ हुन्थो। भइरहने र घटिरहने राजनैतिक र खेलकुदका घटना सम्बन्धि आ-आफ्ना विचार र विश्लेषण साटासाट हुन्थ्यो। त्यति ‘स्ट्याटस’ र फोटोहरु नपोष्टिने म उनले सधैँ पोष्टिरहने ‘स्ट्याटस’ र फोटोहरु सबै ‘लाइक’ गर्थे भने कुनै-कुनैमा कमेन्ट पनि। उनले फेसबुकमा निरन्तर पोष्टिरहने आमा सम्बन्धि ‘पोष्ट’हरु खुब मजाका हुनुका साथसाथै मन छुने पनि हुन्थे। उनले आमा सम्बन्धि पोष्टेका फोटो र ‘स्ट्याटस’ दख्ने बित्तिकै अनायसै आफ्नी आमाको याद आउन थाल्थ्यो।अझ भन्नु पर्दा धेरै काममा व्यस्त भइरहने र घरपरिवार लगायत आमालाई त्यति नसम्झिने मलाई ति पोष्टहरु आमालाई सम्झिने बहाना बनेका थिए। एकदिनको कुराकानीमा मैले उनको प्रशंसा गर्दै भने, “तपाईको आमाप्रतिको अगाध माया देखेर म अत्यन्तै प्रभावित छु!” खै कुन्नि, किन हो उनले यसपटक ‘मेसेज’ हेरेको धेरैपछि जवाफ फर्काएका थिए, “आखिरमा आमा भनेको भगवानको सुन्दर उपहार न हो, उँहालाई माया नगरे कसलाई गर्नु त??” मैले मुस्कुराउँदै जवाफ दिएको थिएँ, “वाह! क्या बात!”
————————-—————————————————————————————————————————–
मलाई नेपाल जाने अवसर मिल्यो। तुरून्तै महेशलाई ‘मेसेज’ गरेँ, “अर्को महिना नेपाल आउँदै छु।” उनले जवाफ फर्काए, “नेपाल आएपछि एकदिन मेरो घरमा डिनरको लागि जसरी नि आउनु पर्छ है!” मैले सहमति जनाएँ। नेपाल आइसकेपछि आफूले गर्नुपर्ने सबै काम भ्याएपछि महेशको घर जाने समय मिल्यो। त्यो भन्दा अघिल्लो रात उनले आफ्नी आमासँग एउटा ‘सेल्फि’ ‘अपलोड’ गरेका थिए ,फोटोमा दुबै मज्जाले मुस्कुराईरहेका। फोटोको माथि ‘क्याप्सन’ लेखेका थिए, “आमासंग हुँदा मुस्कुराउन कुनै बहाना चाहिन्न!” फोटो जति सुन्दर थियो,त्यति नै सुन्दर थियो ‘क्याप्सन’ पनि। अर्को दिन मलाई लिन उनी आफै आए, गाडी ल्याएर। उनको घर देखेर अचम्म परेँ, घर नभएर महल थियो त्यो। सानो छोरो सुतिरहेको थियो। उनले श्रीमतीसंग चिनजान गराए, आफूजस्तै सुशिल स्वभावकी भेटाएका रहेछन्। यस्तो उत्कृष्ट स्वभाव, उच्च विचार अनि परिपक्व व्यवहार भएको छोरालाई जन्म दिने भाग्यमानी आमालाई भेट्न मन थियो। अनि महेशलाई सोधेँ, “आमा खै त?” उनले भने, “आमा त पशुपतिनाथको वृद्धा आश्रममा हुनुहुन्छ। त्यहाँ बस्न लागेको ३ वर्ष भइसक्यो।” त्यो सुनेर फेसबुकमा देखेको आमाको फोटो दिमागमा घुम्न थाल्यो। मुटु चसक्क पोल्यो,मन अमिलो भयो। त्यसपछि केहि बोल्न सकिन।
————————-—————————————————————————————————————————–
Article by: 7017 Bijay
Byasrishi House
A-Level
Budhanilkantha School


